काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ३०० दिनमा बनाउने भनेको किर्तिपुरको रंगशाला अहिलेसम्म नबनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’
तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए । उनले भने, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’ भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर औँल्याए ।
प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै, राष्ट्रिय गौरवका अन्य आयोजनाहरूमा समेत यस्तै लापरवाही दोहोरिएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने- ‘योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनावद्ध ढंगले निरन्तरता दिइनु पर्दछ । तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन ।’
उक्त रंगशाला निर्माणप्रति जनताको चासो र अपेक्षा उच्च रहेको सन्दर्भमा प्रचण्डले सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे ।
FACEBOOK COMMENTS