काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफूले नदिएको बयान छापेको बताएका छन् ।
निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोलेका ओलीले आफूले आयोगलाई मान्यता नै नदिएको बताए ।
“भदौ २३ गते नै ककसलाई जेल हाल्नुपर्छ भन्दै हिँडेका व्यक्ति गौरीबहादुर कार्की नेतृत्वको आयोलाई हामीले मान्यता नै दिएको छैन,“ उनले भने, “जसले पहिल्यै आफ्नो योजना सार्वजनिक गरेको छ, त्यसकै नेतृत्वमा आयोग बनाएर न्याय निरपण हुन्छ ?”
आयोगले प्रतिष्ठाका लागि मात्र बयान भनेर छापेको उनले बताए । यद्यपि, यसबारेको लफडामा आफू नपर्ने उनले बताए ।
“अरुले जेसुकै गरुन् मैले बयान दिएको छैन,“ ओलीले भने, “आयोगले प्रश्न लेखेर पठाएको थियो, मैले जवाफ लेखेको छैन । मेरो जवाफ भनेर छाप्यो– उसको इज्जतका लागि ।”
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताएका छन् ।

‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’
विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए । ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो,’ ओलीले भने, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’
आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए । ‘…मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?,’ उनले भने ।