बागलुङ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीका समस्या समाधान गर्न सरकारसँग माग गरेकी छिन् ।
६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ बागलुङद्वारा आयोजित सहकारीमा महिला सहभागिता विषयक जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै मल्लले यस्तो बताइन् ।
हामीले जहिले पनि शान्तिपूर्ण र भद्र रुपमा हाम्रा माग राखेका छौ, सरकारका तर्फबाट हाम्रा मागको सुनुवाई गर्ने काम भएको छैन, अभियानले सहकारी ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा न्यायाधिकरण स्थापना लगायतका ऐन कार्यान्वयनका माग राखेको छ, महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले भनिन् ‘सरकारले सहकारीका माग अब पनि सुनेन भने हामी चरणवद्ध आन्दोलन गर्ने तयारीमा छौ, नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन शुरु हुन्छ ।’
अभियानका तर्फबाट धेरै पटक प्रधानमन्त्री, मन्त्री, सचिव, रजिष्ट्रार लगायत सरोकारवालाहरुलाई सहकारीका समस्या समाधान गर्न अनुरोध गरेका छौ, अब अन्तिम पटक ध्यानाकर्षण गराउँछौ, यदी अभियानका माग अब पनि सुनुवाई भएनन् भने देशभरका सहकारीकर्मीहरुलाई सडकमा उतार्न हामी बाध्य हुनेछौ, मल्लले भनिन् ।
राज्यले अर्थतन्त्रको तीन खब्बे नीतिमा सहकारीलाई राखेपनि व्यवहारमा त्यस्तो नपाइएको बताइन् । अस्थिर सरकारका कारण सहकारीको वृद्धि र विकासमा समस्या आएको उनको भनाइ छ । “सहकारीका विषयमा कानून संसोधन, वर्तमान समस्या लगायतका विषयमा सहकारी मन्त्री, विभाग तथा सरोकारवाला क्षेत्रको ध्यानआर्कषण गराउदै आएका छौैं, उहाँहरुले काम समेत थाल्नुहुन्छ तर अस्थिर सरकारका कारण उहाँहरु सहकारीको विषय बुझ्न नपाउदै जानुहुन्छ”–मल्लले भनिन् ।
महिलाहरुलाई नेतृत्वमा अग्रसर हुन आव्हान गर्दै उहाँले लगनशीलता, अध्ययन र निरन्तरको कार्यका कारण मात्रै महिलाहरु नेतृत्वमा आउन सक्ने बताइन् ।
उनले महिलाले नेतृत्व गरेका सहकारीहरुले राष्ट्रिय रुपमा सकरात्मक सन्देश दिएको चर्चा गर्दै महिलाहरु सामाजिक रुप सक्षम बन्ने भरपर्दो माध्यम सहकारी भएको बताइन् । सहकारी महिलाहरुको नेतृत्व र आर्थिक विकासको भरपर्दो माध्यम रहेको उनले बताइन् ।
“सहकारीमा आबद्धताले सहकारीको मात्रै विकास हुदैन, महिलाहरुको नेतृत्वको विकास गर्नेछ, आर्थिक रुपमा महिलाहरुलाई मजबुत गराउदछ, सहकारीमा लागेका महिलाहरु अहिले सांसद भइसकेका छन्, जुन उदारण यही बागलुङमा छ” मल्लले भनिन् “महिलाहरुलाई चुलो र चौकाबाट बाहिर ल्याउने माध्यम अब सहकारी हो, सहकारीले नेतृत्व मात्रै हैन महिलाहरुलाई आर्थिक विकासमा सहयोग गर्दछ ।”
जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा चैत १८ गते बजार सरसफाई र २० गते मुल समारोह, जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
FACEBOOK COMMENTS