काठमाडौं । नेपाली बजारमा लगभग एकै समयमा प्रवेश गरेका दुई इलेक्ट्रिक एसयूभी—ओमोडा ई–फाइभ र दीपल एस०७—ले छोटो अवधिमा नै उल्लेखनीय आयात संख्या हासिल गरेका छन्। भन्सार तथ्यांकअनुसार दुवै मोडेलको आयात संख्या करिब उस्तै छ।
चेरी ग्रुपअन्तर्गतको ओमोडा ब्रान्ड र चांगान ग्रुपअन्तर्गतको दीपल ब्रान्ड नेपाली बजारका लागि नयाँ भए पनि मोडेलले प्रारम्भिक चरणमै राम्रो बजार प्रतिक्रिया पाएका छन्।
भन्सार विभागका अनुसार,
ओमोडा ई–फाइभ : सन् २०२४ मा ५८४ युनिट र २०२५ (नोभेम्बर १५ सम्म) मा ३२९ युनिट गरी जम्मा ९१३ युनिट।
दीपल एस०७ : सन् २०२४ मा ६७६ युनिट र २०२५ (नोभेम्बर १५ सम्म) मा २७८ युनिट गरी जम्मा ९५४ युनिट।

आयात संख्याले नेपाली ईभी बजारमा दुवै मोडेलको माग स्थिर रूपमा उच्च रहेकाबारे संकेत गर्छ।

दीपलले यस अवधिमा एस०७ को आइसीए भर्सन नेपालमा ल्याएको छ भने ओमोडा ई–फाइभ सुरुवातमै आएको मोडेलकै बिक्रीमा छ। कम्पनीले फेसलिफ्ट भर्सन चाँडै आउने संकेत गरेको छ।

यो दुई मोडेल प्रत्यक्ष प्रतिस्पर्धी नभए पनि दुवैले समान रेन्ज र मोटर पावरका कारण बजारमा समान वर्गका ग्राहक आकर्षित गरिरहेका छन्। मूल्य, डिजाइन, साइज र ब्याट्री टेक्नोलोजीमा दुवैबीच उल्लेख्य भिन्नता छ।

नेपाली बजारमा एसपीजी अटोमोबाइल्स ले ओमोडा ब्रान्डको बिक्री गर्दै आएको छ भने एमएडब्ल्यू ग्रुप अन्तर्गतको एमएडब्ल्यू वृद्धिले दीपलका मोडेल आयात र वितरण गरिरहेको छ।

सुरुवाती मूल्यअनुसार ओमोडा ई–फाइभ ६० लाख रुपैयाँ र दीपल एस०७ ७२ लाख रुपैयाँ तोकिएको थियो। हाल दुवै मोडेल सुरुवाती मूल्यभन्दा कममा उपलब्ध छन्।
FACEBOOK COMMENTS