काठमाडौँ । हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो अभिनित चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ले ९८ औँ अस्कार पुरस्कार समारोहमा उत्कृष्ट प्रदर्शन गर्दै छ वटा पुरस्कार जितेको छ।
उक्त चलचित्रले उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, रूपान्तरण गरिएको कथा, सम्पादन, सहायक अभिनेता र कलाकार छनोट विधामा पुरस्कार हात पारेको हो। यस वर्षको अस्कारमा यो चलचित्र १३ विधामा मनोनयन भएको थियो।
चलचित्रमा बब फग्र्युसन नामका पात्रको कथा प्रस्तुत गरिएको छ । ’वन ब्याटल आफ्टर अनदर’ एक पूर्व क्रान्तिकारी व्यक्तिको जीवन, परिवार र पुरानो दुश्मनीबीचको संघर्षको कथा हो । चलचित्रको केन्द्रमा बब फग्र्युसन नामका पात्र छन्, जसको भूमिका लियोनार्डो डिक्याप्रियोले निर्वाह गरेका छन् ।
कथामा बब युवावस्थामा सत्ता र अन्यायविरुद्ध लड्ने क्रान्तिकारी समूहसँग जोडिएका व्यक्ति हुन् । उनले आफ्नो युवाकाल राजनीतिक आन्दोलन, विरोध र संघर्षमै बिताएका हुन्छन् । तर समय बित्दै जाँदा आन्दोलन कमजोर हुन्छ र बब पनि त्यो जीवनबाट टाढा हुँदै सामान्य पारिवारिक जीवनतर्फ फर्कन्छन् ।
अहिले उनी शान्त जीवन बिताइरहेका हुन्छन् । उनकी एक छोरी विला छिन्, जसलाई उनले अत्यन्त माया गर्छन्। तर बब आफैँलाई राम्रो बाबु बन्न नसकेको जस्तो लागिरहन्छ। विगतका निर्णय र संघर्षका कारण उनले आफ्नो परिवारलाई पर्याप्त समय दिन नसकेको महसुस गर्छन् ।

कथामा मोड त्यतिबेला आउँछ जब बबको पुरानो शत्रु कर्नेल स्टिभन लक्जा फेरि देखापर्छ । यो व्यक्ति बबसँग पुरानो राजनीतिक द्वन्द्वका कारण गहिरो दुश्मनी राख्ने पात्र हो। वर्षौँपछि फेरि उनी बदला लिन खोज्दै बबको जीवनमा फर्कन्छन् ।

दुश्मनीको प्रभाव बिस्तारै बबको परिवारसम्म पुग्न थाल्छ। विशेष गरी उनकी छोरी विला जोखिममा पर्न थाल्छिन्। त्यसपछि बब फेरि संघर्षको बाटोमा फर्कन बाध्य हुन्छन् । उनले आफ्नो विगतको अनुभव र साहस प्रयोग गर्दै छोरीलाई जोगाउने प्रयास सुरु गर्छन् ।

यस क्रममा कथा केवल एक व्यक्तिको लडाइँ मात्र रहँदैन, यो बाबु र छोरीबीचको सम्बन्ध, विगतका गल्तीको पश्चाताप र परिवार जोगाउन गरिएको अन्तिम संघर्षको कथा बन्न पुग्छ । चलचित्रमा बबको आन्तरिक द्वन्द्व पनि देखाइएको छ, एकातिर विगतको हिंसात्मक जीवन, अर्कोतिर परिवारलाई सुरक्षित राख्ने चाहना । कथामा अमेरिकाको साठी र अस्सी दशकतिरको सामाजिक र राजनीतिक अवस्था पनि देखाइएको छ । त्यस समय समाजमा रहेका असमानता, राजनीतिक तनाव र परिवर्तनको वातावरणले पात्रहरूको जीवनलाई कसरी प्रभाव पारेको थियो भन्ने पनि कथामा प्रस्तुत गरिएको छ ।

यस कारण ‘वन ब्याटल आफ्टर अनदर’ लाई केवल द्वन्द्व र रोमाञ्चक घटनाको कथा मात्र होइन, विगत र वर्तमानबीच फसेको एक बाबुको भावनात्मक संघर्षको कथा पनि भन्न सकिन्छ ।

यस चलचित्रको निर्देशन पउल थोमस एन्डरसनले गरेका हुन्। चलचित्रमा लियोनार्डो डिक्याप्रियोसँगै टेयाना टेलर, वुड ह्यारिस, एलाना हाइम र शन पेनलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा रोचक द्वन्द्व र रोमाञ्चक दृश्य समेटिएको बताइएको छ ।
FACEBOOK COMMENTS