पोखरा मंसिर १४, कास्कीमा मंगलबार बिहान बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा थप आठ जना घाइते भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा भैरहवाबाट बागलुङका लागि छुटेको लु१ख ७७६६ नम्बरको यात्रुवाहक बस बिहान करिब ७ बजे दुर्घटना हुँदा बस चालक पाल्पा घर भएका ४६ वर्षीय भूपेन्द्र खनालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
चालक खनाललाई बसले च्यापिएको अवस्थाबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा बिहान ९ बजे चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
दुर्घटनामा आठ जना घाइते भएको र घाइतेहरूको उद्धार गरी पोखरा स्थित फिस्टेल हस्पिटल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी तिवारीले जनाउनुभयो ।
बस सडकबाट खसेर करिब ३० मिटर तल बस्ती नजिकै पुग्दा स्थानीय एक घर मुली समेत घाइते भएका छन् । घर मूली पाउदुरकी माया बिकको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
यसै गरी बसमा सवार बागलुङ वडा नं -६ लहरे पीपलका २९ वर्षीय शिवराम शर्मा, वडा नं -२ आवारोड बस्ने ४२ वर्षीया सुवर्ण सापकोटा, वडा नं. -१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ र उहाँका ८५ वर्षीय बुबा उमलाल श्रेष्ठ तथा ठुलढुङ्गाका ४८ वर्षीय कृष्ण खड्काको फिस्टेल हस्पिटलमा उपचार भइरहेको डिएसपी तिवारीले जानकारी दिनुभयो ।
उहाँहरु मध्ये सुवर्णको अवस्था सामान्य रहेको, उमलालको अवस्था गम्भीर रहेको तथा अन्यको अवस्था मध्यम रहेको डिएसपी तिवारीको भनाई छ ।
त्यसतै पर्वत फलेवास -४ बस्ने ३५ वर्षीय सूर्य तिवारी र चितवन भरतपुर -३ राम्जाली मार्गकी २३ वर्षीया साधना उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS