काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःमः पसलमा गत माघ २४ गते भएको ग्यास सिलिन्डर विष्फोटमा परी घाइते भएकाहरूमध्ये थप एक जनाको मृत्यु भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्क घर भई कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो । उनको उपचाररत अवस्थामा गएराति ११:४५ बजेको समय मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यससँगै ग्यास विष्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि अन्य तीन जनाको पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।
यसअघि शुक्रबार उदयपुरको उदयपुरगढी-७ घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।
दुई जनाको गत सोमबार मृत्यु भएको थियो । मकवानपुरको मनहरि गाउँपालिका-५, डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका-८, गालटारका २५ वर्षीय भीमबहादुर घलेमगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको हो ।
विस्फोटमा परी १४ जना घाइते भएका थिए, जसमध्ये गम्भीर घाइते भएका ११ जनालाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अन्य घाइतेको उपचार जारी छ ।
FACEBOOK COMMENTS