काठमाडौं । कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रतिस्पर्धामा अमेरिकी प्रविधि कम्पनी एन्थ्रोपिकले नयाँ कीर्तिमान कायम गरेको छ ।
आफ्नो संवादात्मक कृत्रिम बुद्धिमत्ता प्रणाली ‘क्लाउड’ का लागि परिचित कम्पनीले करिब ९६५ अर्ब अमेरिकी डलर मूल्यांकन हासिल गर्दै प्रतिस्पर्धी ओपनएआईलाई समेत उछिनेको छ । दुवै कम्पनीले निकट भविष्यमा सेयर बजारमा प्रवेश गर्ने तयारी गरिरहेका बेला यो उपलब्धि सार्वजनिक भएको हो ।
हालै सम्पन्न लगानी संकलन चरणमा एन्थ्रोपिकले ६५ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी जुटाएको छ । यस चरणको नेतृत्व अल्टिमिटर क्यापिटल, ड्र्यागोनियर, ग्रीनओक्स र सिक्वोया क्यापिटलले गरेका थिए । साथै एएमपी पिबिसी, बेली गिफोर्ड, ब्ल्याकस्टोन, ब्रुकफिल्ड र डीईश लगायतका प्रमुख लगानीकर्ताले पनि सहभागिता जनाएका थिए। पूर्वाधार साझेदारका रूपमा माइक्रोन, सामसुङ र एसके हाइनिक्स पनि जोडिएका छन् ।
यसअघि ओपनएआईले मार्च महिनामा १२२ अर्ब अमेरिकी डलरको लगानी जुटाएको थियो, जसपछि कम्पनीको मूल्यांकन ८५२ अर्ब अमेरिकी डलर पुगेको थियो । तर पछिल्लो मूल्यांकनसँगै एन्थ्रोपिक यस क्षेत्रमा अग्रस्थानमा पुगेको छ ।
विश्वभरका ठूला व्यावसायिक संस्थाहरूमा ‘क्लाउड’ को प्रयोग तीव्र रूपमा बढिरहेका कारण कम्पनीको वार्षिक आम्दानी दर यस महिनाको सुरुमै ४७ अर्ब अमेरिकी डलर नाघेको बताइएको छ । कम्पनीले चालु वर्षको कुल आम्दानी १०.९ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरेको छ, जुन अघिल्लो अवधिको तुलनामा दोब्बरभन्दा बढी हो ।

कम्पनीले आगामी जुन त्रैमासिकमा पहिलो पटक सञ्चालन नाफा हासिल गर्ने अपेक्षा गरेको छ । कुनै पनि प्रविधि नवप्रवर्तन कम्पनीका लागि यो महत्वपूर्ण उपलब्धि मानिन्छ ।

कम्पनीका प्रमुख वित्तीय अधिकृत कृष्णा रावका अनुसार विश्वभरका ग्राहकका लागि ‘क्लाउड’ अत्यावश्यक उपकरण बन्दै गएको छ । उनले नयाँ लगानीले बढ्दो माग पूरा गर्न, अनुसन्धान विस्तार गर्न तथा ‘क्लाउड कोड’ र ‘को–वर्क’ जस्ता उपकरणलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

बढ्दो मागलाई सम्बोधन गर्न एन्थ्रोपिकले आफ्नो गणनात्मक क्षमता पनि तीव्र गतिमा विस्तार गरिरहेको छ । कम्पनीले नयाँ क्षमता विस्तारका लागि अमेजन वेभ सर्भिससँग पाँच गिगावाटसम्मको सम्झौता गरेको छ । त्यसैगरी नयाँ पुस्ताको प्रशोधन प्रविधिका लागि गुगल क्लाउड र बोर्डरुमसँग तथा उच्च क्षमतायुक्त ग्राफिक्स प्रशोधन प्रणाली प्रयोगका लागि स्पेस एक्ससँग पनि महत्वपूर्ण सहकार्य गरेको छ ।
सिक्वोया क्यापिटलका साझेदार अल्फ्रेड लिन ले विश्वका हजारौँ ठूला कम्पनी र नवप्रवर्तन व्यवसायहरूले जटिल कार्य व्यवस्थापनका लागि ‘क्लाउड’ प्रयोग गरिरहेको बताए । उनका अनुसार यसले व्यवसाय सञ्चालनका शैली र आवश्यकता गहिराइसँग बुझ्न सक्षम हुँदै गएको छ । एन्थ्रोपिकले आफ्नो पूर्वाधार यति बलियो बनाइसकेको छ कि ‘क्लाउड’ अहिले विश्वका तीन प्रमुख क्लाउड सेवा मञ्च—अमेजन वेब सर्भिसेज, गुगल क्लाउड र माइक्रोसफ्ट अजुरेमा सहज रूपमा उपलब्ध छ ।
बलियो आम्दानी वृद्धि, नाफाको सम्भावना र विश्वका प्रमुख प्रविधि कम्पनीहरूसँगको रणनीतिक साझेदारीका कारण एन्थ्रोपिकले कृत्रिम बुद्धिमत्ता बजारमा आफ्नो स्थान निकै मजबुत बनाएको विश्लेषण गरिएको छ । आगामी प्राथमिक सेयर निष्कासन र कृत्रिम बुद्धिमत्ता उपकरणको बढ्दो मागलाई हेर्दा यो क्षेत्र अझ तीव्र गतिमा विस्तार हुने अपेक्षा गरिएको छ, जसमा एन्थ्रोपिक हाल अग्रणी कम्पनीका रूपमा उभिएको देखिन्छ ।