काठमाडौं- उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ। ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी खानी विभाग र काठमाडौं महानगरपालिका-१ को सहयोगमा टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरि सञ्चालनमा ल्याएको हो।
खानी विभाग चोकमा जडान गरेको ट्राफिक बत्ती महाशाखाका प्रमुख, एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानका लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए।
‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौं, यसका लागि विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौं’, उनले भने, ‘आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ।’ हाल काठमाडौं उपत्यकाको मुख्य ३८ चोकहरुमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ। ट्राफिक बत्ती सञ्चालनमा आएका चोकहरुमा ट्राफिक बत्तीको पूर्ण पालना गरिदिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
FACEBOOK COMMENTS