अमृत र विष एकअर्काका विपरीतार्थक शब्द हुन् । एउटाको अर्थ सरकारात्मक र अर्कोको अर्थ नकारात्मक छ । सकारात्मकताले समग्रमा सबैका लागि सधैं फाइदा पुर्याउँछ तर नकारात्मकताले भने क्षणिक सीमित पक्षलाई फाइदा होला तर समग्रतामा त्यसको नतिजा राम्रो मानिँदैन । आजको समयमा यी सबै पक्षलाई गम्भीर रूपमा सोच्न कसैलाई फुर्सद पनि छैन र सोच्न आवश्यक पनि ठानिरहेको पाइँदैन । मानिसमा स्वार्थ भावले यति अड्डा जमाइसकेको छ कि आपूmलाई लाभ हुने विषयभन्दा अरू कल्पना गर्न नसक्ने अवस्थामा भएको जस्तो देखिन्छ अहिलेको व्यवहार हेर्दा । मानिस अरूका लागि केही गर्नेवाला छैन । कुनै पनि काम गर्दा, गर्नुभन्दा अगाडि उसले सोच्ने गर्दछ कि मैले यो काम गर्दा मलाई के हुन्छ ? किन गर्ने ? यदि मलाई फाइदा हुँदैन भने गर्न आवश्यक हो त ? यस्ता विविध प्रश्नहरूको विश्लेषणपछि मात्र गर्ने र नगर्ने निर्णयमा पुग्दछ । गीतामा भनिएको छ, ‘कर्म गर फलको आशा नगर’ । यो उक्ति कार्यान्वयन हुने अवस्था आजको दिनमा पाइँदैन । बरू गीताको सो सार फल निश्चित भएपछि मात्र कर्म गर भनेर रूपान्तरित भएको हो कि भन्ने भान हुन्छ ।
समाजले अग्रगामी छलाङ मारेको बताउँछन् राजनीतिज्ञहरू । देशको राजनीतिक व्यवस्था परिवर्तनमा होस्, चाहे मानिसहरूको जीवनशैली होस्, चाहे बसाइँसराइ होस्, चाहे सामाजिक संरचना र रहनसहन होस्, चाहे सर्वसाधारणको सोच्ने शैलीमा नै किन नहोस् । समाजमा भोका, नांगा, निमुखा सायदै भेटिन्छन्, देश रेमिट्यान्सले टेको लागेको नै किन नहोस् । प्रसंगलाई विषयसँग जोड्दा अमृत लाग्ने विषय विषमा परिणत हुँदा त्यसको प्रभाव भनिरहनु पर्दैन । अहिले हामी बस्ने समाज, हाम्रो खानपान, हाम्रा चालचलन, बोलीव्यवहार, रहनसहन, देखासिकी, प्रतिस्पर्धा, होडबाजी यी विविध पक्षहरू केवल एक क्षणका लागि राम्रो देखिनु परेको छ । पूmलबुट्टा भरेर राम्रो भन्दिनु परेको छ, सुन्नेले पनि राम्रो सुन्न चाहन्छन् । हाम्रो सोच दीर्घकालीनभन्दा पनि इभेन्ट म्यानेजमेन्टमा अभ्यस्त हुन थालेको छ । यसले क्षणिक रूपमा व्यवस्थापन भएको देखिएला/मानिएला । तर, समग्र परिस्थितिमा दिगोपना आउँदैन । फलतः त्यसको क्षति ठूलो हुनेछ कालान्तरमा । अमृतसमानको विषको प्रसंगलाई विभिन्न विषयसँग यसको सम्बन्धले पार्ने असर र प्रभाव के हो भन्ने बुझ्न सकिन्छ ।
१. शारीरिक सुख : हिजोको समय यस्तो थियो जहाँ मानिस बिरामी हुँदासमेत आराम गर्न पाउने समय थिएन । रोग लाग्दासमेत के भएको हो जानकारी नभई मर्नुपर्ने समय थियो । मानिसमा शिक्षाको अभाव, आर्थिक अवस्थाको कमजोरीपन, यातायातको अभाव, स्वास्थ्यमा पहुँचको अभाव, वित्तीय साक्षरता नहुनु, प्रजनन् स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव, छोरा र छोरीबीचको विभेदका कारण सन्तानको वृद्धि यस्ता विविध विषयहरू हुन् जसले गर्दा मानिसलाई ठूलो भारले च्यापिरहेको समय थियो । आजको समय परिवर्तन भई उल्लेखित विषयहरूमा ठूलो परिवर्तन आत्मसात गर्ने समय आइसकेको छ । मानिसहरू अर्थोपार्जनका लागि देश-विदेश गएका छन् । ‘म्यान’ बेचेर ‘मनी’ ल्याउनु राम्रो होइन तर पनि देशमा केही नहुने बेलासम्म यसलाई पनि एउटा सबल पक्ष मान्नु परेको अवस्था छ । मानिसहरूको बसाइँ शहरकेन्द्रितबाट अब विदेशकेन्द्रित हुँदैछ । खेतहरू बाँझिएका छन्, काम गर्न कसैलाई मन छैन, प्रविधिको अनावश्यक प्रयोगले मानिसलाई साँघुरो घेरामा बन्दी बनाएको अवस्था छ । खाद्यान्न र तरकारीमा विषादीको अवस्था कहालीलाग्दो छ, गुणस्तरयुक्त खाना हो वा होइन ढुक्क हुने स्थिति छैन । शारीरिक सुख खोज्दा मानिस गाउँबाट शहर र विदेशका कोठामा बन्दी बनेको छ । आपसी सम्बन्ध सकिँदै गएको छ । शहरमा बसेर रेमिट्यान्सबाट आएको पैसा खर्च गरेर सुकिला लुगा लगाइएला र जिब्रोका लागि स्वादिला खाना पनि खाइएला तर यसले क्षणिक सुखको नाउँमा विभिन्न खालका शारीरिक तथा मानसिक रोग निम्त्याइरहेको छ । यो बिस्तारै देखिँदै गएको छ । आजको समय मानिसले भौतिक सुख रोज्दा शारीरिक र मानसिक दुःख खेपिरहेको परिस्थिति हो ।
२. पारिवारिक पक्ष : परिवार भन्नेबित्तिकै एकाघरमा दुई वा दुईभन्दा बढी व्यक्तिहरू रहेको अवस्थालाई जनाउँछ । परिवारमा आमाबुवा, छोराछोरी, हजुरबुवा-हजुरआमा, काका-काकी, फुपू, ठूलोबुवा-ठूलीआमालगायतका सदस्यहरू सके एउटै घरमा नभए पनि घरवरपर सँगै घर जोडिएका, आँगन एउटै, पानीको धारो एउटै, खेतीको काम गर्ने ठाउँ एउटै, सबैका समस्या एउटै, सबैका दुःख एउटै, अभाव उस्तै यस्ता धेरै पक्षहरू एउटै र उस्तैउस्तै भएका कारण एकले अर्कालाई सघाउने, दुःखमा साथ दिने, समस्यालाई फुकाउने, आडम्बर र देखासिकी लुकाउने, वास्तविकतासँग नजिक हुने वातावरणले सबैमा आत्मीयता थियो र हुन्थ्यो । आजको समयमा यी अधिकांश विषयहरू टाढा भएका छन् सबै, मात्र नजिक छ दुःख, पीर, चिन्ता, अशक्तता, दरिद्रता, मानसिक रोग आदि । यस्ता यावत विषय सबैसँग रहन्छन् र तिनलाई सन्चो बनाउने आत्मीयता, सहयोग, माया, आड, भरोसा, ढाडसको अभाव छ जुन न त पैसाले आउँछ न त अरू केही गरेर नै आउँछ । आजको समयमा घरमा कम्पाउण्ड लगाएर बन्द कोठाभित्र थुनिएर बस्न रूचाउने मानिस न त सँगै बुवाआमा छन् न त छोराछोरी । जसरी आमाबुवा छोडेर आफूहरू हिँडे त्यसरी नै छोराछोरीले छोडेर विदेश लागिरहेका छन् । अहिलेको समयमा छोराछोरी विदेश छैनन् भन्ने बुबवाआमालाई लाज मान्नुपर्ने जस्तो भाव सिर्जना भएको छ । यो तीतो यथार्थ हो । के बुवाआमा छोडेर कलिला छोराछोरी बिदेसिनु, उतै बतासिनु र आमाबुवाले डिजिटल माध्यमबाट छोराछोरीलाई हेर्नु, अन्तिम अवस्थामा एक्लै हुनु राम्रो हो र ? यो त दुखद् कुरा हो । तसर्थ अहिले सुखी, खुसी देखिएजस्तो लागे पनि समग्रतामा दुःखको बाटोको गोरेटो बनेको छ ।
३. व्यावहारिक पक्ष : व्यक्ति, परिवार, समाज, संगठन सबैलाई सामाजिक मूल्य र मान्यताले एकसूत्रमा बाँधेको हुन्छ । त्यसका अलावा सबैलाई लागू हुने गरी नीति, नियम, प्रक्रिया र कानुनहरू पनि बनेका हुन्छन् । दैनिक जीवनमा चल्ने सबै कामहरू नियमसंगत, प्रक्रियागत र नीतिसंगत चल्नुपर्छ र चलेका छन् भन्ने मान्यता राखिन्छ । तर, समय काल परिस्थितिलाई हेरेर केही व्यावहरिक पक्षको पनि ध्यान पुर्याउन सकेदेखि सहज वातावरण बन्न सक्दछ । विभिन्न किसिमका संघ, संगठन, कार्यालयहरूमा गरिने कार्यसम्पादनहरू बढी लचिलो भएर गरिने कामको परिणाम खतरनाक हुन सक्छ भने बढी कसिलो भएर गरिने कामको परिणाम पनि आशातीत नहुन सक्छ । तसर्थ व्यावहरिक पक्षको वहन गर्दा निस्वार्थ भावनाले चलेका मूल्य, मान्यता र बनेका नीतिनियमको पालना हुने गरी काम गर्नुपर्दछ । यदि यसो गरिएन भने क्षणिक समयका लागि स्वार्थ पूर्ति पनि होला, राम्रो र सहज पनि देखिएला, अन्ततः त्यसको नतिजा फलदायी हुन सक्दैन ।
४. राजनैतिक पक्ष : देशको राज्यव्यवस्था राजनीतिको आडमा चलेको हुन्छ । अझ अर्को शब्दमा राज्यलाई चलाउने नीति नै राजनीति हो । यस्तो महत्वपूर्ण नीति र सो नीति अवलम्बन गर्ने व्यक्ति राजनीतिज्ञहरू दुवै सही ढंगको हुन जरूरी छ । पहिले नीति सही तथा गतिशील हुनुपर्छ, दोस्रो त्यसलाई अनुसरण गर्ने व्यक्ति सही हुनुपर्यो र तेस्रो भनेको त्यो नीति कार्यान्वयन हुने वातावरण स्वस्थ हुनुपर्छ । देशमा प्रजातान्त्रिक व्यवस्था आएको पनि करिब ३५ वर्ष पूरा भयो । यति लामो समयसम्म राज्यको बागडोर सम्हाल्ने नेतृत्व लगभग सीमित व्यक्तिहरूमा निहित छ तर पनि विभिन्न चरणमा व्यवस्था परिवर्तन त भए तर देश र जनताको अवस्था परिवर्तन भने हुन सकेन । यो भनेको आजको दिनमा सत्ताको लोलुपताले एउटै व्यक्ति ५-७ पटक प्रधानमन्त्री बन्न खोजे पनि कुनै दिन पुस्तान्तरण गर्नुको विकल्प छैन । एक पटक क्षमताको परीक्षण भइसकेपछि पनि पुनः सोही बाटोमा लाग्नु क्षणिक आनन्द देखिएला तर भावी पुस्ताले सोध्ने छ, यति लामो समयसम्म नेतृत्वमा रहनेहरूले के गरेर बसे ? देशले के पायो ? देशमा के हुनुपर्थ्याे ? किन भएन ? यसको जवाफ समयले दिने छ ।
५. आर्थिक पक्ष : मानिसको पहिलो आवश्यकता भनेको गाँस, बास र कपास हो भन्ने गरिन्छ । यो आवश्यकता पूरा हुन्छ, मानिसमा अर्को थप आशा जाग्दछ अनि धन आर्जनतिर लाग्दछ । मानिसलाई जति धन आर्जन हुन्छ त्यसको तिर्खा बढ्दै जान्छ र झनझन आशक्ति बढ्दै जान्छ । यसरी लाग्दछ कि आफूले आर्जन गरेको धन उपभोग गर्न नपाउँदै जाने बेला हुन्छ, त्यो पनि रित्तै । धनले मानिसमा अहम्, आडम्बर, घमण्ड, मैमत्तापन उब्जाउन सहयोग पुर्याउँदछ, जुन लाभभन्दा हानिकारक बढी हुन्छ । यसो भन्दै गर्दा के आर्थिक पाटो बिर्सने हो त भन्ने प्रश्न पनि उब्जन सक्छ । प्रसंगलाई यसरी जोडन् खोजिएको हो कि आर्थिक पक्षलाई सही ढंगबाट बुझेर काम गर्न सकिएन भने अर्थोपार्जन त होला आनन्द उपार्जन नहुन सक्छ ।
६. धार्मिक पक्ष : धर्म पनि राज्य तथा समाज सञ्चालनको एउटा बलियो नीति हो । धर्मलाई चलाउने, सञ्चालन गर्ने नेतृत्व भनेका धर्मगुरूहरू हुन्, जो अरूका लागि काम गरिरहेको बताउँछन् । कतिपय धर्मगुरूहरू अनुयायीहरूबाट विभिन्न किसिमका स्वार्थ पूर्ति गर्ने काम गरिरहेका समाचारहरू समयसमयमा आउने गर्दछन् साथै कति त जेलसमेत परेका कयौं उहाहरणहरू छन् । धर्मका नाममा व्यापार, राजनीति, हिंसा, भेदभाव, अपराधका घटनाहरू समयसमयमा भएका देखिन्छन् र सुनिएका पनि छन् । धर्मजस्तो संवेदनशील विषयमा पनि व्यापार गर्ने परिपाटी समाजमा चलिरहेको छ । यसले क्षणिक मान, सम्मान, वैभवलगायत अन्य स्वार्थ पूर्ति त होला तर त्यसको क्षतिपूर्ति समयले गराउने छ ।
७. सामाजिक पक्ष : आजको समयमा मानिसहरूमा सामाजिकपनको आभास गर्न सकिने कुनै पनि ठाउँ भेटिँदैन । समाजमा सामाजिक काम गर्ने कतिपय सामाजिक अभियन्ताका विल्लाधारीहरू प्रशस्त भेटिन्छन् तर तिनको काम गर्ने शैली, प्रवृत्ति, आचरण सामाजिक नभएर असामाजिक काम गरिरहेका देखिन्छन् । असामाजिक कामले समाजको जग कमजोर बन्दै गएको छ । सामाजिक अभियान्ताका नाममा स्वार्थकेन्द्रित क्रियाकलापले क्षणिक आनन्द त होला तर आफ्नै मनले प्रश्न गरिरहेको हुन्छ, म ठीक गरिरहेको छु त ? यसको जवाफ आफैसँग हुन्छ, जसले आनन्द सायद दिँदैन ।
निष्कर्ष
यस्ता विविध प्रकृतिका विषय वा पक्षहरूको आशक्तिले व्यक्ति, परिवार कसैलाई पनि सकारात्मक प्रभाव पार्न सक्दैन । क्षणिक रूपमा मानिसमा आनन्द महसुस भएजस्तो भान भए तापनि त्यसको क्षतिपूर्ति समयले गराउने हुँदा यस्तो भ्रमबाट बाहिर आउन जरूरी छ । जसरी बजारका विषादीरहित तरकारी, फुलफूल, खाद्यान्न, जंकफुड, डिजिटल वालेटहरू, नकारात्मक समाचार सम्प्रेषणजस्ता कार्यले मानिस शारीरिक तथा मानसिक रोगको शिकार भएका छन्, त्यसैगरी उल्लेखित पक्षहरूका प्रभावले मानिसमा क्षणिक समयका लागि लाभदायी, फलदायी, प्रभावकारी देखिन तापनि त्यसको हिसाब मिलान भइराखेको हुन्छ । जीवन एउटा ‘ब्यालेन्स सिट’ हो । उक्त ब्यालेन्स सिटमा सम्पत्ति बढाउने कि दायित्व बढाउने हो, समयमा सोच्नुपर्दछ । क्षणिक रूपमा अमृत मानेर वरण गरिएको वस्तु वा विषय कालान्तरमा विष बन्नु हुँदैन । कालान्तरमा विष हुने विषय आज अमृत मानेर भ्रममा पर्नुहुँदैन आजका सचेत मानिसहरूले ।
FACEBOOK COMMENTS