काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनका लागि संस्थापन इतर पक्षले पदाधिकारीमा ४ जनाको नाम अन्तिम टुंगो लगाएको छ । थापा गाउँस्थित कार्यालयमा जारी छलफलबाट इतर पक्षले अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवमा गरी चार जनाको नाम ’फाइनल’ गरेको एक नेताले जानकारी दिए ।
अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिनेछन् । त्यस्तै एक उपाध्यक्षमा गोकर्ण विष्ट, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । पदाधिकारीको संख्या बढाउने गरी आइतबार केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव पारित गरेसँगै तुलनात्मक रूपमा ईश्वर पोखरेल समूहलाई आकांक्षीहरूको व्यवस्थापनका लागि सहज भएको ती नेताले बताए ।
परशुमेघि गुरूङ, बिन्दा पाण्डे र अरूण नेपाललाई उपाध्यक्षको उम्मेदवार बनाउने तयारी छ । उपमहासचिवमा थप दुई जनाको नाम टुंगिन बाँकी छ । कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल र इन्द्रलाल सापकोटालाई सचिवको उम्मेदवार बनाउने गरी छलफल चलिरहेको छ ।ओली समूहमा आकांक्षीहरूको संख्या बढी हुँदा सहमतिका लागि सकस परिरहँदा त्यहाँबाट असन्तुष्ट नेताहरूलाई पनि आफ्नो समूहको पदाधिकारीमा समेट्ने तयारी इतर पक्षको छ ।
FACEBOOK COMMENTS