काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद बाहिरबाट अन्तरिम सरकार गठन गरेको र संसद विघटन गरेको भन्दै विरोध जनाएको छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिचिएको भन्दै विरोध जनाएका हुन् ।
केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ’राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ ।
सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको छ ।
हामीले प्रतिनिधिसभालाई विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ ।’
यस घटनालाइ जनमोर्चाले लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको ठहर गरेको छ । जनमोर्चाले जेनजी आन्दोलनका अगुवाहरूले संसदको विघटनलाई बनाएको पूर्वशर्त गलत भएको भन्दै उनीहरूका गलत मागमा राष्ट्रपतिले अडान लिन नसकेको आरोप लगाएको छ ।
जनमोर्चाले संसदको विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भन्दै जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीहरूले पूरा शक्ति लगाएको र त्यसमा
उनीहरू पूरा सफल हुन नसकेको बताएको छ । संसद बाहिरबाट अन्तरिम सरकारको गठन र संसदको विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नपाओस् भन्दै जनमोर्चाले त्यसतर्फ गणतन्त्रका पक्षधर
सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण गरेको छ ।
FACEBOOK COMMENTS