पर्वत । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पदम गिरीले आगामी पाँच वर्षभित्र पर्वत जिल्लाको न्यूनतम पूर्वाधार निर्माण सम्पन्न गर्ने संकल्प गरेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार गिरीले चुनावी अभियानलाई तीव्रता दिँदै गाउँ-गाउँ पुगेर मतदातामाझ यस्तो प्रतिबद्धता जनाए ।
मतदाताहरूसँगको भेटमा गिरीले युवाहरूलाई उत्पादनसँग जोड्ने नीति निर्माण र स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न आफू पुनः संघीय संसदमा पुग्न चाहेको बताए । ‘विगतका वर्षहरूमा मैले जिल्लाको शिर झुक्ने गरी कुनै काम गरिनँ’, अघिल्लो कार्यकालको स्मरण गर्दै उनले भने, ‘कोभिडको संकटमा अक्सिजन सिलिन्डर बोकेर बिरामीको घर पुग्नेदेखि जिल्लामा ५० बेडको आधुनिक अस्पताल निर्माणसम्ममा मैले नेतृत्वदायी भूमिका निर्वाह गरेको छु।’
विद्यार्थी राजनीतिबाट उदाएका गिरीले यसअघि स्वास्थ्य र कानुन मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। यसपटक उनको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीसँग हुने देखिएको छ । जसलाई गिरीले अघिल्ला दुई निर्वाचनमा पराजित गरेका थिए। जिल्लामा एमाले र कांग्रेसबाहेक रास्वपा, राप्रपा र माओवादीका उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन् ।

FACEBOOK COMMENTS