काठमाडौ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ।
यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका माछा, गोहीलगायतका जलचरको पारिस्थितिक प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पु(याएको विज्ञहरूको भनाइ छ।
काठमाडौँ विश्वविद्यालय जीवविज्ञान विभागकी उपप्राध्यापक डा। रामदेवी तचामोले त्रिशूली नदीमा नियमितजसो खस्ने पहिरोको प्रत्यक्ष प्रभाव नारायणीमा परेको बताइन्। उनले भनिन् “अहिले नारायणगढ–मुग्लिन सडकखण्डमा झर्ने पहिरोको गेग्रान पनि सिधै त्रिशूलीमा फाल्ने गरिएको छ। यसले जलचरको बासस्थानमै प्रभाव परेको छ।” नारायणीका जलचरको अवस्थाबारे दुई वर्ष अध्ययन गरेकी तचामोले भनिन्, “पहिरोबाट निस्कने बालुवाका कण नदीको सतहमा गएर नदी पुरिँदा त्यहाँको लेउ नासिने अवस्थामा पुगेको छ।”
उनका अनुसार नदीको सतहमा हुने लेउ नै माछालगायतका जलचरको प्रमुख आहारा र बासस्थान हो। लेउ नै बन्न नपाउने अवस्था आएपछि यसले जलचरको खाद्य सुरक्षामा पनि चुनौती थपिएको छ। नेपालमा पाइने १२५ प्रजातिका माछामध्ये धेरैजसो नारायणी नदीमा छन्। विशेषतः बग्ने पानीमा रहने धेरै प्रजातिका माछा नारायणीमा पाइन्छन्।
घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लभ जीव, पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुरजस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख बासस्थान नारायणी हो। जलचरविज्ञ वेद खड्काका अनुसार बासस्थानमा आएको समस्याकै कारण कतिपय गोहीले पानीमै अन्डा पार्ने गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS