कालीकोट । पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो ।
सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार, शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको हो ।
पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए । “साँघुरो सडकका कारण दोहोरो रुपमा गाडी गुडाउन समय लाग्ने गरेको छ”, उनले भने “डोजरले सडक फराकिलो पार्ने काम भइरहेको छ ।”
सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म तथा जुम्ला र मुगुबाट सुर्खेतका लागि छुटेका सवारीसाधन बाटोमै थन्किएपछि यात्रुले सास्ती पाएका थिए । सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
FACEBOOK COMMENTS