काठमाडौ । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् ।
यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताए । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो ।
“नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ”, अर्यालले भने । वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए । खास गरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भू-क्षयलगायतको समस्या देखिएको उनले बताए ।
आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभावी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताएयो । “वडा नं ५ स्थित राधाकृष्ण टोलमा झण्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ । नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन् ।
वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन । जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिनुभयो । वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका उनले बताए ।
FACEBOOK COMMENTS