म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा आज दिउँसो पहिरोमा पुरिएर ज्यान गुमाएका र घाइते भएका मजदुरहरुको पहिचान खुलेको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५र४६ वर्षका लालबहादुर सुनारको घटनास्थलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर घाइते भएका भारतको गोपालगङ्गाका ५५ वर्षीय धरम कुसहवा, विहार शासाराम जिल्लाका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका–७ का ४० वर्षीय कुमार थापामगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
सर्लाहीको बागमती नगरपालिका–५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका–३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ । बाँधमा काम गरिरहेको अवस्थामा एक्कासि भिरबाट पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसियट्सका मजदुरहरु पहिरोमा पुरिएका हुन् ।
FACEBOOK COMMENTS