कास्की । कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो । पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो ।
यसैगरी पोखरा–३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।
मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियार, कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाइँ २५ वर्षका अस्मित परियार रहेका छन् । पोखरा–१९ तल्लाकोट टारी बस्ने ५६ वर्षीय राधिका परियार, ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । पवन कुल बहादुरका छोरा हुन ।
पोखरा ३२ चैनपुरमा आरती ओझाको घर पुरिँदा उनकी छोरी १८ वर्षीय अनिता ओझा, अर्की छोरी ११ वर्षकी अनुष्का ओझा र दाइको छोरा प्रतीक सुवेदीको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS