ललितपुर । कलामा भविष्य खोजिरहेका नौजना युवकको एक टोलीले ललितपुरस्थित एमक्युब ग्यालरीमा सामूहिक चित्रकला प्रदर्शनी आयोजना गरेको छ । कलेजको अध्ययनसँगै उनीहरूले आफ्ना भावन चित्रका माध्यमबाट अभिव्यक्त गर्न चित्रकला रोजेको बताएका छन् ।
प्रदर्शनीमा प्रस्तुत चित्रमा युवावर्गका भावना रङका माध्यमबाट पस्किइएको छ । चित्रमा हाम्रो समाजका बेथिति पनि औँल्याइएको छ । चित्रकार हर्षित सिंहले चित्रकला आफ्नो लागि एक किसिमको चिकित्सा भएको बताए । ‘चित्र कोर्दा मन नै आनन्दित हुन्छ,’ उनले भने, ‘कतिपय शब्दमा व्यक्त गर्न नसकिएका विषय चित्रमार्फत अभिव्यक्ति गर्न सकिन्छ ।’
एमक्युब ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले चित्रकला प्रदर्शनीको संयोजन गरिएको हो । उनका अनुसार पछिल्लो समय युवा पुस्ताले ललितकलामा चित्रकला विधा रोज्न थालेका छन् ।
‘यङ्ग आर्टिस्ट शो’ शीर्षकमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा युवा चित्रकार हर्षिता सिंह, लाछिन् न्यारटिन तामाङ, लुजन राई, ओनसिमस राई, रोजन राई, रोनिसा श्रेष्ठ, समृद्धिरत्न शाक्य, शरण तण्डुकार र सुवोध भण्डारीका सृजना समावेश छन् । गत शुक्रबारदेखि प्रारम्भ भएको प्रदर्शनी आगामी असार ५ गतेसम्म जारी रहने छ ।
FACEBOOK COMMENTS