पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरूद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो । पञ्जाबबाट बसमा यात्रारत उनीहरूकाे गाेली हानी हत्या भएकाे हाे ।
मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकुहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’
उनले थपे, ‘पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो ।’
काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।
जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन् ।
उनले भने, ‘यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकु जिम्मेवार रहेको देखिन्छ ।’
बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो ।
बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।
FACEBOOK COMMENTS