काठमाडौँ । चीनले पाकिस्तान र अफगानिस्तानबीच बढ्दै गएको सैन्य तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्धविराम गर्न आग्रह गरेको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले दुवै देशबीचको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताइन् ।
उनका अनुसार पाकिस्तान र अफगानिस्तान आपसका छिमेकी मात्र नभई चीनका पनि मित्र राष्ट्र भएको बताउदै हालको झडपका कारण भएको मानवीय क्षतिप्रति चीन दु:खी रहेको उल्लेख गरेकी छन् ।
उनले सबै प्रकारका आतंकवादविरुद्धको प्रयासलाई चीनले समर्थन गर्ने स्पष्ट पारिन् । साथै दुवै देशलाई संयमता अपनाउँदै संवादमार्फत समस्या समाधान गर्न आग्रह गरिएको छ ।
चीनले तनाव थप नबढ्ने गरी तत्काल युद्धविराम गरी शान्तिपूर्ण उपाय खोज्नुपर्नेमा जोड दिएको छ । माओ निङले तनाव कम हुनु दुवै देशका नागरिक तथा समग्र क्षेत्रीय स्थिरताका लागि आवश्यक रहेको बताइन् । उनले चीनले आफ्नै पहलमा दुवै पक्षबीच समझदारी कायम गराउन प्रयास गरिरहेको र सम्बन्ध सुधारका लागि सकारात्मक भूमिका खेल्न तयार रहेको जानकारी दिइन् ।
चिनियाँ नागरिक र कम्पनीको सुरक्षाबारे सोधिएको प्रश्नमा उनले अवस्था निरन्तर मूल्याङ्कन भइरहेको र आवश्यक परे आफ्ना नागरिकलाई सहयोग उपलब्ध गराइने बताइन् ।
पाकिस्तानले अफगानिस्तानको भूमिबाट केही सशस्त्र समूह सक्रिय रहेको आरोप लगाउदै आएको छ भने अफगान पक्षले उक्त आरोप अस्वीकार गर्दै पाकिस्तानी सेनाको आक्रामक गतिविधिका कारण तनाव बढेको दाबी गरेको छ । चीनले भने विवाद समाधान गर्दै क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न पहल जारी राख्ने जनाएको छ ।

FACEBOOK COMMENTS