काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान र अफगानिस्तानबीचको शान्ति वार्ता पूर्णरूपमा डेडलकको अवस्थामा पुगेको बताएका छन् । पाकिस्तानी प्रतिनिधिमण्डल टर्कीबाट स्वदेश फर्किएको छ ।
बीबीसी उर्दू समाचारका अनुसार जियो न्यूजको एक कार्यक्रममा बोल्दै रक्षामन्त्री आसिफले भने, “अर्को चरणको वार्ताका लागि कुनै कार्यक्रम तय भएको छैन । कुनै आशा पनि बाँकी रहेको छैन ।”
आसिफले वार्ताको क्रममा अफगान प्रतिनिधिमण्डलले पाकिस्तानको स्थिति स्वीकार गरे पनि उनीहरू त्यसमा लिखित प्रतिबद्धता जनाउन तयार नभएको बताए । उनले भने, “उनीहरूले मौखिक रूपमा मात्र हामीलाई विश्वास गर्न आग्रह गरिरहेका थिए ।”
आसिफका अनुसार, “वार्ताको अन्तर्राष्ट्रिय सिद्धान्त नै हरेक कुरा लिखित रूपमा अगाडि ल्याउनु हो,” भन्दै उनले जोड दिए ।
उनले मध्यस्थकर्ताहरू पनि पछि हटेको बताए । कुनै सफलता प्राप्त हुने सम्भावना बाँकी नभएपछि मध्यस्थकर्ताहरू पछि हटेको उनले बताए ।

मध्यस्थकर्ताहरूलाई अब अफगानहरूसँग कुनै आशा नभएको उनले प्रष्ट पारे । रक्षामन्त्री आसिफले स्पष्ट पार्दै भने, “यदि, स्थिति फेरि बिग्रियो र उनीहरूको क्षेत्रबाट हाम्राविरुद्ध कुनै कारबाही गरियो भने पाकिस्तानले तत्काल जवाफ दिनेछ ।”

पाकिस्तान र अफगानिस्तानबीचको वार्तामा कतारले मध्यस्थता गरेको थियो । गत महिना पाकिस्तानले काबुल र अफगानिस्तानका सीमावर्ती क्षेत्रहरूमा हवाई हमला गरेको थियो । पाकिस्तानको भनाइ अनुसार, तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)का लडाकुहरू अफगानिस्तानबाट पाकिस्तानमाथि हमला गरिरहेका छन् ।

यी लडाकुहरू अफगानिस्तानमा लुकेका छन् । र, त्यहाँको तालिबान सरकारले उनीहरूलाई संरक्षण दिइरहेको पाकिस्तानको आरोप छ । यता, अफगानिस्तानको तालिबान सरकारले भने आफूहरूले आफ्नो देशको सार्वभौमिकताको हरेक मूल्यमा रक्षा गर्ने चेतावनी दिएको छ । बीबीसी

FACEBOOK COMMENTS