 
			                  			              
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार पारालम्पिकमा तेक्वान्दोमा कास्य पदक विजेता २१ वर्षीया पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
महासंघले गोवर्धनलाई तीन लाख रूपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चीस हजार रूपैयाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रूपैयाँसहित सम्मान गरेको हो । गोवर्धन पारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउदा खुसी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे ।

‘नेपाली युवाहरू प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’

गोवर्धनले २०२४ पेरिस पारालम्पिक खेलमा तेक्वान्दोमा कास्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरूआत गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।

गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ केजी के-४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५-८ ले पराजित गर्दै कास्य पदक हात पारेकी हुन् ।

पेरिस पारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजयले नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकालको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैरनाफामूलक संस्था हो ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS