काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताएका छन् ।
बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ । यसलाई अवश्य अगाडि बढाउँछौँ । पञ्चेश्वरलाई अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सकारात्मक हुनुहुन्छ ।”
यसका साथै उनले पाटन–पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्र हुने बताए । बैतडीको तल्लोस्वराड क्षेत्रमा पहिलेभन्दा अहिले धेरै विकास भएको भन्दै उनले अझै अधुरा विकास निर्माणका कार्य अगाडि बढाइने स्पष्ट गरे । उनले भने, “धर्मघाटमा पुल, पाटन–उग्रतारा–मेलौली सडक खण्ड निर्माणलगायतका बाँकी विकास निर्माणका कार्य अगाडि बढाउनेछौँ ।”
बैतडी सहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकाले यहाँ गठबन्धनले जित्नु आवश्यक रहेकामा प्रधानमन्त्री देउवाको जोड थियो । “दशरथ चन्द जन्मेको र द्वारीकादेवी ठकुरानीको ठाउँमा आउँदा निकै खुसी छु”, उनले भने, “सहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकाले यहाँ गठबन्धनका उम्मेदवारले जित्न आवश्यक छ ।”
देश महत्त्वपूर्ण मोडमा उभिएकाले गठबन्धनलाई विजय गराउन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले भने, “केपी ओलीले दुई पटक संसद् विघटन गरेकाले यो गठबन्धन बनेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, यो गठबन्धन १०र१५ वर्षसम्म जान्छ । गठबन्धन सरकार लामो समयसम्म अगाडि बढे देश समृद्ध बन्नेछ, देशमा विकास हुनेछ ।”
सोही सभालाई सम्बोधन गदैँ नेपाली काँग्रेसकी नेत्री आरजु राणा देउवाले देशको विकास र आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गरिन् ।
प्रधानमन्त्री देउवा दोस्रो पटक बैतडी पुगेका हुन् । यसअघि कात्तिक २३ गते पनि बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।
बैतडीमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्त गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेश सभा (१) मा नेपाली काँग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा नेपाली काँग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।
FACEBOOK COMMENTS