बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । संघीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्यकालका रूपमा देशभरका सात सय ५३ स्थानीय तहहरूमा जनप्रतिनिधि स्थानीय विकास, कानुन निर्माण र संघीयताको अभ्यास गरिरहेका छन् ।
यीमध्येको एक बुटवल उपमहानगरपालिकाले यसबीचमा विकास निर्माण, कानुन निर्माण र संघीयताको मर्मबमोजिमका कामहरू गर्दै आएको छ । देशको मध्यभागमा रहेको यो क्षेत्रको बलियो स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई चिनिन्छ ।
विगतमा खस्यौली, बटौली, बुटौलजस्ता नाममा स्थापित अहिलेको बुटवल सयौँ वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अङ्ग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए ।
नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको विस्तारपछि बुटवलले एक सय वर्षअघिदेखि मात्रै आधुनिक स्वरूप पाएको हो । यो आधुनिक सहरमा स्थानीय सरकारको नेतृत्व गरिरहेका उपमहानगर प्रमुख खेलराज पाण्डेयसँग यस साढे दुई वर्षका अनुभवहरूलाई आधार मानेर कुराकानी गरेका छौँ । पाण्डेयसँग लुम्बिनी प्रदेश कार्यालयबाट वरिष्ठ समाचारदाता भरत केसीले गरेको कुराकानीको सम्पादित अंश ।
कार्यभार सम्हालेको साढे दुई वर्षको अनुभव कस्तो रह्यो ?
स्थानीय सरकारका रूपमा हामीले दोस्रो कार्यकालको रूपमा कार्यभार सम्हाल्दै गर्दा धेरै चुनौतीहरू हाम्रासामु थिए । सङ्घीयताको अभ्यास राम्रोसँग हुन पाएकै थिएन । पहिलो कार्यकालमा सुरु भएका केही अभ्यासहरू हामीमा आइपुग्दासम्म अर्कै अवस्थामा पुगेका थिए । पहिलो वर्ष सिक्दासिक्दै केही कामहरू अगाडि बढाइयो । दोस्रो वर्ष योजनालाई कार्यान्वयनको चरणमा पुर्याएर केही नतिजा दिन सक्ने अवस्थाको सिर्जना भएको छ । साढे दुई वर्षमा बुटवलमा हामीले केही नतिजा दिन सक्ने अवस्थामा पुगेका छौँ ।
बुटवल उपमहानगरपालिकाले मानव संसाधनको विकासमा परिणाम नै देखिनेगरी त्यस क्षेत्रमा के कस्ता काम भएका छन्?
बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अगाडि बढाइएको छ । विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउनका लागि हामी संघ र प्रदेश सरकारसँग साझेदारी गर्दै अगाडि बढिरहेका छौँ ।
सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवाहरू सुरु गरेका छौँ । बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, अपाङ्गता परिचयपत्र वितरण, सुत्केरीको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायत कार्यक्रम नागरिकको घरदैलोमै पुर्याइएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै नगरवासीलाई आत्मनिर्भर बनाउने योजना अगाडि सारिएको छ ।
स्वरोजगार सिर्जना गर्दै नगरवासीलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र सीपयुक्त तालिम सञ्चालन भइरहेका छन् । हामीले भौतिक विकासले मात्रै पुग्दैन, मानिसको सर्वाङ्गीण विकास जरुरी छ भन्ने मान्यताका साथ सबैजसो उमेर अवस्थाका बासिन्दालाई लक्षित गरेर कार्यक्रम अगाडि बढाएका छौँ । बुटवलले गृहणी तथा युवालाई स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उद्देश्यले गृहणी स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलमजस्ता कार्यक्रममार्फत सीप र रोजगारसँग जोड्दैछौँ ।
यस्तै, बुटवलमा अस्पतालमा चाहिने जनशक्ति उत्पादनका लागि बुटवल उपमहानगरपालिका स्थानीय समितिको संयोजक रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पारामेडिकलको अध्ययन सुरु गरेका छौँ । यहाँबाट उत्पादन हुने जनशक्ति बुटवलमै खपत हुनेछ । त्यसका लागि आम्दालाई स्तरोन्नति गरी तीन सय श्ययामा पुर्याउँदैछौँ ।
हामीले भौतिक पूर्वाधारमात्रै होइन मानव संसाधनको विकासमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ भनेर यी कार्यक्रमहरू अगाडि बढाएका हौँ । बुटवलको अहिलेको माग मानव संसाधनको विकासमा पनि उत्तिकै छ । यसको अर्थ, भौतिक पूर्वाधारका क्षेत्रमा काम भएको छैन भन्ने चाहिँ होइन ।
भौतिक पूर्वाधारका क्षेत्रमा के कस्ता कामहरू भएका छन् ?
बुटवल भौतिक पूर्वाधारमा अगाडि छ । हामीसँग राष्ट्रियस्तरका संरचनाहरू छन् । संघीय सरकारद्वारा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ । ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेल मैदानहरू बनेका छन् । प्रदेश सरकारको प्रदेश गौरवको योजनाअन्तर्गत बजेट विनियोजन भएर लुम्बिनी प्रादेशिक अस्पताल आधुनिक सुविधा सम्पन्न भवन निर्माणको क्रममा छ । आम्दा अस्पतालका नयाँ भवन बन्दैछन् । सपिङ मलहरू, ठूला ठूला तारे होटलहरू सञ्चालनमा छन् भने केही निर्माणका क्रममा छन् । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर पशु वधशाला सञ्चालनमा आएको छ । विद्यमान पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टी डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि काम अगाडि बढाएको छ ।
नगरका अधिकांश भित्री सडकहरू पक्की र फराकिला बनेका छन, केही निर्माणकै चरणमा छन् । छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरणसहितको गौशाला सञ्चालनमा ल्याइएको छ । यी बुटवलका लागि महत्त्वपूर्ण योजनाहरू हुन् । अझै पनि केही चुनौतीहरू छन्, ती क्षेत्रमा हामीले क्रमैसँग समाधान गर्दै अगाडि बढिरहेका छौँ ।
शिक्षा र स्वास्थ्यमा बुटवल अग्रणी सहरका रूपमा स्थापित भइसक्यो भन्ने विषय पनि यहाँले उठाउँदै आउनुभएको छ, यसका आधारहरू के हुन् ?
बुटवल यसै पनि शिक्षामा अब्बल क्षेत्र हो । माध्यमिकस्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालयहरू छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसइई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको छ । हामीले आन्तरिक स्रोतबाट मात्रै यो वर्ष शिक्षामा रू १० करोड जति बजेट छुट्याएका छौँ ।
प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल–१६ मा कृषिविज्ञान (बिएससीएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । अटो भिलेजमा इञ्जिनियरिङ अध्ययन गराउनका लागि पहिलो चरणको अध्ययन पूरा भएर काम अगाडि बढेको छ । स्वस्थ शिशु पोषण कार्यक्रमअन्तर्गत नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरूलाई प्रोत्साहनस्वरूप रू दुई हजार र एचआइभी सङ्क्रमित बालबालिकालाई मासिक रू तीन हजार पोषण खर्च प्रदान गर्दै आएका छौँ ।
नगरमा अहिले १५–१५ बेडका दुई वटा अस्पताल निर्माण सम्पन्न भइसकेर सञ्चालनको तयारीमा रहेका छन् । बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रूपमा स्तरोन्नति गर्न तीन सय श्ययामा स्तरोन्नति गर्ने काम अगाडि बढेको छ । बुटवलमा पिपीपी मोडेलमा एक सय शय्याको अस्पताल स्थापना गर्ने योजनासहित सरोकारवालासँग छलफल चलाइरहेका छौँ ।
बुटवलमा कृषियोग्य जमिन घट्दै गइरहेको छ, यसलाई जोगाइराख्न के योजना छन् ?
बुटवलमा बसाइसराइका कारण कृषियोग्य भूमि घट्दो अवस्थामा छ । अहिलेको अवस्थामा १९ वटा वडामध्ये १ देखि १२ वडासम्म कृषियोग्य जमिन एकदमै न्यून छ । १ देखि ११ वडासम्म त कृषिका लागि जमिन नै छैन भन्दा पनि हुन्छ । वडा नम्बर १३ देखि १९ वडामा कृषियोग्य जमिन रहेको छ । त्यो पनि बिस्तारै घट्दो क्रममा छ । यसलाई जोगाइराख्नका लागि नगरले कृषिलाई प्रोत्साहन गर्ने हो । व्यक्तिको जमिन किनबेचमा रोक लगाउन सम्भव छैन । देशका मुख्य सहरहरूको मुख्य चुनौती यही हो । कृषियोग्य जमिन घट्दै गएको छ र बस्ती बाक्लिँदै गएको छ । बस्ती बाक्लिँदै जाँदा कृषि उपजको माग बढ्दो छ । तर आफूसँग भएको जमिन घडेरी भइसकेको छ । यसले हामीलाई परनिर्भर बनाउँदै लगेको छ । यसमा हामीले किसानलाई प्रोत्साहन दिएर कृषियोग्य जमिन बिक्री गर्नमा भन्दा खेतीपाती गर्नमा आकर्षित गर्ने प्रयास गरिरहेका छौँ ।
स्थानीय स्रोतसाधनले ठूलो लगानी गर्न सकिँदैन । तर पनि, हामीले मकैबाली, तरकारी खेती, पशुपंक्षी पालन गर्नेलाई बीउ र सहायतास्वरूप केही सामग्री, उपकरण तथा उत्पादनमा आधारित अनुदान उपलब्ध गराइरहेका छौँ । दुग्ध उत्पादनलाई वृद्धि गर्नका लागि भैँसीको पाडी खरिदमा अनुदान दिने गरेका छौँ । सहरी बस्तीमा कौशीखेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सञ्चालन गरेका छौँ । यसले केही हदसम्म कृषियोग्य जमिनमा खेतीपाती गर्नका लागि प्रोत्साहन गर्न सक्छ भन्ने हो ।
बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थल बनाउन के योजना छन्?
हामीले पर्यटनका लागि उपयुक्त वातावरण तयार गर्ने हो । त्यसमा हामीले स्थानीय पर्यटन उद्यमीलाई साथमै लिएर कार्यक्रम सञ्चालन गरिरहेका छौँ । बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै अन्य पर्यटकीयस्थलसँग तिनलाई जोडेर पर्यटकीय विश्रामस्थलको रूपमा बुटवललाई विकास गर्ने लक्ष्य छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रवर्द्धनका योजना छन् । बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न नगरको सौन्दर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ । उज्यालो बुटवल कार्यक्रमअन्तर्गत नगरका २३ स्थानमा हाइमास्ट लाइट जडान गरेर बाँकी स्थानमा यसै वर्ष जडानको काम सुरु भएको छ ।
बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–वसन्तपुर जोडने लुम्बिनी केबलकार र बुटवल–नुवाकोट जोडने सिद्धार्थ केबलकारले यो क्षेत्रलाई अझ चलायमान बनाएका छन् । निजी क्षेत्रले पनि आर्थिक केन्द्रको रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने अपेक्षासहित ठूला, स्तरीय तथा तारे होटलहरूमा लगानी गरिरहेका छन् ।
बुटवलको मुख्य चुनौतीका रूपमा रहेका ज्योतिनगर पहिरो, अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या, तिनाउ नदी कटानका विषयमा के योजना छन् ?
यी चुनौतीको सामना गर्दै समाधान गर्नका लागि हामीले निर्वाचित भएदेखि नै काम गरिरहेका छौँ । ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा हामीले वर्षा याम लागेपछि छुट्टै टिम नै बनाएर हरेक दिन आउने पहिरो र ढुङ्गाहरू बस्तीमा जान नदिने गरी काम भइरहेकै छ । तिनाउ नदी कटान हुने क्षेत्रमा पनि बस्ती जोगाउनका लागि तटबन्धको काम भइरहेकै छ ।
अन्त्यमा बुटवल कहिले महानगर बन्छ ?
हो, बुटवल अब महानगरपालिका बन्न तयार छ । यसका लागि सबै पूर्वाधार र मापदण्डहरू पनि पूरा भएका छन् । बुटवललाई आम मानिसको रोजाइको सहर बनाउने, सबैखालका सेवा सुविधा सहज र सर्वसुलभ रूपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्नतर्फ हामीहरू लगिपरेका छौँ । यसमा बुटवलका बासिन्दा, उद्योगी व्यवसायी, विभिन्न पेसामा संलग्न व्यक्तित्वहरू, कर्मचारी, सामाजिक अगुवा, विकासका अगुवाहरूसहितको सहयोगको खाँचो रहन्छ । हामी सधैँ सबै पक्षलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेका छौँ ।
FACEBOOK COMMENTS