काठमाडौँ । लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरी तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् ।
भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रको सेवा गरे पनि पार्टीमा व्यक्तिवादी हाबी हुँदा पार्टी परित्याग गरेको बताइन् ।
लोसपा पार्टी परित्याग गरी उनीसहित उनका समर्थकले स्वतन्त्र रूपमा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरासहित तीन दलीय तालमेललाई समर्थन गरेका हुन् ।
तालमेललाई समर्थन गर्ने निर्णय लिएकी लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सचिवालय सदस्यसमेत रहेकी पाण्डेलाई सोमबार राप्रपाका वरिष्ठ नेता पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरा तथा पूर्व गृहमन्त्री निरन्जन थापाले माला र खादा लगाई स्वागत गरेका थिए ।
पाण्डेले प्रदेश सरकारमा रहेर शिक्षा तथा सामाजिक विकास मन्त्रालयसमेत सम्हालेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सदस्य बनेकी पाण्डे वैशाख ६ गते पहिलो पटक र वैशाख १९ गते दोस्रो पटक मन्त्रीमा नियुक्त भएकी थिइन् ।
पार्टी परित्याग गरेकी पाण्डेले साम्प्रदायिक र व्यक्ती केन्द्रित राजनीतिबाट टाढा रही राष्ट्र र राष्ट्रियताको पक्षमा सधैँ रहने बताइन् । कुनै क्षेत्र समुदाय र व्यक्ती केन्द्रितबाट मुक्त भई आम नागरिकको हकहितमा लाग्ने उनले बताइन् ।
FACEBOOK COMMENTS