चितवन । पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ चितवनमा प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।
हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए ।
भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । यसबारे तीन वर्ष अध्ययन गरिएको थियो । एक सय २० किलोभन्दा कम तौल भएको अवस्थामा मात्र प्याराग्लाइडिङ उडान भर्न सकिने उनले जानकारी दिए ।
चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ ।
कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए ।
यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनको भनाइ छ । उनले भने, ‘चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना छ ।’ कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।
प्याराग्लाडिङ उडानका लागि प्रति व्यक्ति आठ हजार शुल्क तोकिएकामा हाललाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
दैनिक ४५ जनासम्मलाई उडाउन सकिने दबाडीको भनाइ छ । नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले नागबेली सडक र त्रिशूली नदीमाथिको उडानले पर्यटक आकर्षित हुने बताए ।
प्याराग्लाइडिङ चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए ।
नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताइन् ।
सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवद्र्धनको काम भइरहेको उनको भनाइ छ ।
सन् ०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने किसिमका गतिविधि गर्न जरुरी रहेको बताइन् । रासस
FACEBOOK COMMENTS