काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले सरकारले उद्योगी–व्यवसायी सम्मानित हुने वातावरण बनाउने बताएका छन् ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घको ४५औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले आगामी दिनमा उद्यमी–व्यवसायी सम्मानित महसुस हुने वातावरण सरकारले बनाउने बताए ।
वाचापत्रमा उल्लिखित प्रतिबद्धता पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ । “निकासी पैठारी ऐन बन्दै छ, त्यसमा तपाइँहरूसँगको सहकार्य आवश्यक छ,” उनले भने ।
सरकारलाई तिर्नुपर्ने कर अनलाइनबाट तिर्न सकिन्छ भने उद्यमी–व्यवसायीले सरकारबाट फिर्ता पाउनुपर्ने रकम पनि अनलाइनबाट फिर्ता गर्नुपर्ने उनले बताए । निजी क्षेत्रका समस्या आफूले नजिकबाट अनुभूति गरेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीतिगत समस्या समाधानका लागि महाससंघ र निजी क्षेत्रका अन्य संघ संस्थाले सहकार्य गर्नुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई सहयोग हुने खालको नीतिगत व्यवस्थाको आवश्यकता औँल्याए । उनले उत्पादन र निर्यात प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।
