काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाल प्रिमियर लिग (एनपीएल) सहित नेपाली क्रिकेटको रोडम्याप प्रस्तुत गरेका छन् ।
सिंगापुरमा जारी सम्मेलनमा सचिव खड्काले एनपीएलको पहिलो संस्करणले पारेको प्रभाव, नेपाली क्रिकेटको हालको अवस्था र भविष्यको योजना समेटेर प्रस्तुति दिएका हुन्। उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता, सरकारले गरेको लगानी, क्यानले लिएको रणनीति र आइसीसी प्रतियोगितामा नेपालले हासिल गरिरहेको सफलताबारे विस्तृत जानकारी गराएका थिए।
खड्काले सम्मेलनपछि प्रतिक्रिया दिँदै नेपाल क्रिकेट संघको तर्फबाट प्रस्तुत गर्न पाएको अवसरप्रति आभार व्यक्त गर्दै, “गत वर्ष गरिएको एनपीएलले पारेको प्रभाव र पूर्ण सदस्य राष्ट्र बन्ने दिशामा भइरहेको प्रगति अन्तर्राष्ट्रिय क्रिकेट परिषद् समक्ष प्रस्तुत गर्न पाउनु गर्वको विषय हो,” भनेका छन्।
उनले नेपाललाई टेस्ट क्रिकेटतर्फ उन्मुख गराउन सुरु गरिएको रातो बल क्रिकेट, घरेलु प्रतियोगिताको सुदृढीकरण, संरचनागत सुधार र युवा विकास कार्यक्रमबारे पनि सम्मेलनमा जानकारी गराएका थिए।
नेपाल क्रिकेट संघले आगामी दिनमा एनपीएललाई थप व्यवस्थित बनाउँदै दोस्रो संस्करण सञ्चालन गर्ने तयारी गरिरहेको छ। साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पूर्वाधार निर्माण, खेलाडी प्रशिक्षण र प्रतियोगितामा सहभागितामार्फत नेपाललाई पूर्ण सदस्य राष्ट्र बनाउने दीर्घकालीन लक्ष्य राखिएको जनाइएको छ।


              
                
                
			                  			              
                  



                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                  
                  
              
              
              
              
              
FACEBOOK COMMENTS