काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरूङले दोलखाको समग्र विकास एमालेबाहेक अरूले गर्न नसक्ने दाबी गरेका छन् ।
नेकपा (एमाले) दोलखा-काठमाडौं सम्पर्क मञ्चको छैटौं पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै उनले दोलखाली जनताले अपेक्षा गरेअनुरूपको विकास गर्न नेकपा (एमाले) मात्रै सक्षम रहेकाले अन्य पार्टीबाट सम्भव नरहेको बताएका हुन् ।
अहिलेसम्म जिल्लामा जेजति विकासका काम भएका छन् ती सबैको नेतृत्व नेकपा (एमाले) बाटै हुँदै आएको बताउँदै उनले आगामी दिनमा पनि एमालेकै नेतृत्वले दोलखालाई समृद्ध बनाउने विश्वास व्यक्त गरे ।
‘दोलखामा अहिलेसम्म जति विकास भएको छ त्यो सबै एमालेको नेतृत्वबाट सम्भव भएको हो,’ पूर्वमन्त्री गुरूङले भने, ‘दोलखालाई समृद्ध बनाउन अझै धेरै काम गर्नुपर्ने छ । त्यसका लागि जिल्लाबाट सङ्घ र प्रदेशमा एमालेको प्रतिनिधित्व र सबै पालिका तथा वडाहरूमा एमालेको नेतृत्व अनिवार्य छ । त्यसका लागि सन्निकट रहेको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचन एमालेले जित्नु जरूरी छ ।’
नेकपा (माओवादी केन्द्र) का नेताहरू स्थानीय, प्रदेश र संघको नेतृत्वमा पुग्दा विकास गरेजस्तो देखाएर व्यापक कमिशन खाएको आरोप पूर्वमन्त्री गुरूले लगाए । विकासका नाममा कमिशनको जालो फिँजाउने पार्टी र त्यसको नेतृत्वबाट दोलखाली जनतामा समृद्धि नआउने उनले बताए ।
‘दोलखामा माओवादीले विकासको नाममा कमिशनको व्यापक चलखेल गरेको छ । त्यस्तो पार्टीबाट दोलखाली जनता सुरक्षित छैनन्,’ उनले भने, ‘२०६४ सालमा माओवादीले जितेको थियो, जिल्लाको विकास कति गर्यो, के-के गर्यो ? हामीले देखेकै छौँ, जनताले हेरेकै छन् ।’
दोलखामा स्थापित सबै राजनीतिक दलभन्दा स्वाभिमानी र नैतिक बल उच्च भएको पार्टी एमाले मात्रै भएको बताउँदै उनले दोलखामा अपुग विकास एमालेकै नेतृत्वले गर्ने र विकास एउटा निरन्तर प्रक्रिया भएको बताए ।
विकासको काममा एमाले कयौँ गुणा अगाडि रहेका कारण मंसिर १६ गते गौरीशंकर गाउँपालिकालगायत स्थानीय तहहरूमामा हुने निर्वाचन एमालेले नै जित्नुपर्ने तर्क उनको थियो । एमाले प्रचारमा भन्दा काममा विश्वास गर्ने पार्टी भएको तर्क उनले गरे ।
यस्तै, उनले नयाँ पार्टीले केही गर्छ भन्ने भ्रमसमेत चिरिएको पछिल्लो अवस्थामा एमाले रोज्नुको विकल्प नरहेको बताए । लोकतन्त्र र गणतन्त्र ल्याउनु नै गलत भयो भन्ने भाष्य सृजना गरेर सामाजिक सञ्जालको सहारामा नेता बनेकाहरूको असली हविगत दिन प्रतिदिन उजागर हुँदै गएकाले मूलधारका पार्टीबाटै मुलुकको विकास र समृद्धि सम्भव रहेको बताए ।
‘नेता जनताले बनाउने हो र जनताले बनाएका नेता नै लामो समयसम्म टिक्न सक्छन्,’ नेता गुरूङले भने, ‘सामाजिक सुञ्जालले बनाएको नेता अब टिक्दैनन् । लामो समय टिक्दैनन् । त्यो देखिइसकियो ।’
यस्तै, उनले एमाले पार्टी बलियो रहेकै कारण अहिले चौतर्फी रूपमा प्रहार भइरहेको र पार्टीमाथि भइरहेको आक्रमणविरूद्ध आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा आयोजना गर्न लागिएको जानकारी पनि बैठकलाई दिए । मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राज्यका पक्षम जनमत निर्माण गर्न सो जागरण सभा गर्न लागिएको उनले बताए ।
एमाले कमजोर पार्दा मात्रै आफू अघि जान सकिन्छ भन्ने सोचबाट अन्य राजनीतिक पार्टी र विभिन्न शक्तिहरू लागि परेको अवस्थामा पार्टीले सो सभा आयोजना गर्न लागेको उनको भनाइ थियो ।
मञ्चका अध्यक्ष उमेश खड्काको नेतृत्वमा सम्पन्न बैठकमा नेताहरू सरस्वती बस्नेत, श्यामकुमार बस्नेत, सुरोजंग पाण्डे, रामप्रसाद रिमाल, राम पाण्डे, सरोजमोहन लामा, अमृत खड्का, महाराज गुरूङ, डिल्ली बराइली, तीर्थ खड्का, गणेश शिवाकोटीलगायत सहभागी थिए । बैठकले मञ्चका अघिल्ला गतिविधिहरूको समीक्षा गर्दै मंसिर १६ गते गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनमा सशक्त भूमिका निर्वाह गर्न विभिन्न निर्णय गरेको मञ्चका सचिव नारद खड्काले जानकारी दिए ।
FACEBOOK COMMENTS