गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी गोरखाको बिकास निर्माणमा प्राथमिकता दिने बताएका छन् । बुधवार चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा आयोजित श्याग्या सताब्दी महोत्सवको उद्घाटन गर्दै उनले सिर्दिबासदेखि छेकम्पारसम्म सडक निर्माण गर्न पहल गर्ने, तिब्बतसँगको नाका खुलाउन पहल गर्ने लगायतका आश्वासन दिए ।
महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईहरुले यो महोत्सवमार्फत सिङ्गो देश र दुनियाँलाई शान्ति र अहिंसाको सन्देश दिनुभएको छ, तपाईहरुको यो मेहनत र तपस्यालाई सरकारको तर्फबाट उच्च सम्मान छ ।’ चुम उपत्यकालाई अहिंसा क्षेत्रको रुपमा स्थापित गर्नु आफैँमा ठुलो इतिहास भएको उनले बताए ।
उत्तरी गोरखाको बिकास नेताले भनेअनुसार हुन नसकेको जनताको गुनासोलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यस क्षेत्रको बिकासप्रति संवेदनशिल भएर, प्रतिवद्ध भएर नै प्रधानमन्त्री, उपप्रधान एवं गृहमन्त्री र सांसदहरु यहाँ आएका छौँ ।’ चुमनुब्री गाउँपालिका भौगोलिक रुपमा बिकट भएपनि पर्यटकीय र पर्यावरणीय रुपमा सम्भाबना बोकेको क्षेत्र रहेको उनले बताए । उत्तरी गोरखामा आर्थिक, सामाजिक, पूर्वाधार बिकासका लागि आफु तयार रहेको उनले बताए ।
सिर्दिबास हुँदै छेकम्पार जाने सडक निर्माण गर्न स्थानीयले माग गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले योजना आयोगसँगको सल्लाहबाट आगामी बजेटमा अघि बढाउने बताए । तिब्बतससँग जोडिएको सामागाउँको रुईला र छेकम्पारको ङुईला नाका खुलाउने विषयमा सरकारको तर्फबाट प्रक्रिया अघि बढाउने आश्वासन दिए ।
सडक सञ्जाल सहज नभएको चुमनुब्रीमा सुत्केरी, गर्भवती, बिरामी, घाईतेहरुको उद्धारकालागि हेलिकप्टर उडाउन निषेधित क्षेत्र भएकाले असहज भएको गुनासो स्थानीयले प्रधानमन्त्री दाहाल समक्ष गुनासो गरेका थिए । जवाफमा दाहालले त्यो विषयबारे अध्ययन गरेर समस्या समाधान गर्ने बताए ।
मनास्लु हिमालमा आउने पर्यटक लक्षित पर्यटन पूर्वाधार निर्माणकालागि बजेट बिनियोजन गर्ने, हुन सक्ने जती बिकास निर्माण र आर्थिक क्रियाकलाप बढाउन सरकार प्रतिवद्ध रहेको दाहालले बताए । उत्तरी गोरखाका जनताले दुःख कष्टको सामना गर्नुपरेको स्मरण गर्दै उनले भने ‘सरकार तपाईहरुको साथमा छ ।’
FACEBOOK COMMENTS