मकवानपुर । बागमती प्रदेश सरकारले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई नीति तथा योजना आयोगको सदस्यमा मनोनीत गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बताए ।
त्यस्तै यही भदौ २२ गते चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको उनले जानकारी दिए ।
प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत भएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरेको सङ्गठन संरचना र दरबन्दी सहितको सङ्क्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।
बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेको स्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौताका लागि अख्तियारी प्रदान गर्नेसमेत निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS