काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन् ।
बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्रीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन् ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्ने छन् ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक मध्याह्न ११:१५ बजेका निम्ति निर्धारण गरिएको छ । यद्यपि, संसद् सचिवालयले सभाको सम्भावित कार्यसूची भने प्रकाशन गरेको छैन ।
FACEBOOK COMMENTS