काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार चार दिन स्थगित भएको छ ।
सरकारको आगामी बजेटमाथि छलफल गर्न जेठ २० गतेदेखि लगातार चार दिन दैनिक बैठक बस्ने तय थियो । तर, यसबीच दुईवटा बैठक कार्यसूचीमा प्रवेश नै नगरी तथा दुईवटा बैठक बस्दै नबसी स्थगित भए ।
जेठ २० र २२ गतेको बैठक कार्यसूचीमा प्रवेश नगरी तथा २१ र २३ गतेको बैठक बस्दै नबसी स्थगित भएको हो ।
आज पनि दिउँसो १ बजे बैठक बस्ने तय भएको थियो । तर, विपक्षीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेपछि बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते आइतबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले भिजिट भिसामा हुने गरेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि उनको राजीनामा माग्दै संसद अवरोध गरिरहेका छन् ।
FACEBOOK COMMENTS