काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग–अलग छलफल गरेका छन् ।
रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरूप बदल्न आग्रह गरेका छन् । सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका थिए ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका थिए । अध्यक्ष लिङ्देनलाई टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।
FACEBOOK COMMENTS