काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठक सुरू हुनासाथ विपक्षी दल रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
बैठकको आकस्मिक समय सुरू हुनासाथ रास्वपाका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेका छन् ।
आकस्मिक समयमा सत्तापक्ष र विपक्षी दलका अन्य सांसदहरूलाई सभामुख देवराज घिमिरेले समय उपलब्ध गराएअनुसार उनीहरूले आफ्ना धारणा राखे । विपक्षी दल राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले आफूलाई दिइएको सयममा धारणा राख्दै अवरोधका बीच संसद सञ्चालन गर्नु दादागिरी भएको भन्दै यस्तो कार्य बन्द गर्न ध्यानाकर्षण गराए ।
तर, रास्वपाका प्रमुख सचेतक सन्तोष परियालाई सभामुखले समय दिँदा पनि उनी भने बोलेनन् । सभामुखले तीनपल्टसम्म उनको नाम लिँदासमेत उनले त्यसलाई बेवास्ता गरे ।
अस्ति शुक्रबारदेखि विपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले संसंसदमा अवरोध गर्न छाडेका छन् । त्यससँगै प्रतिनिधिसभाको बैठक रास्वपा र राप्रपाको अवरोधका बीच सञ्चालन हुन थालेको छ ।
भिजिट भिसमार्फत हुने गरेको मानव तस्करीमा आर्थिक लेनदेनको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी भने एक महिनाभित्र सरकारले छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद अवरोधबाट ब्याक भएका छन् ।
FACEBOOK COMMENTS