काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गरेका छन् ।
आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले आफूले विद्युतीय गाडीको करलाई विवेकपूर्ण मात्र बनाएको दाबी गरे । हरेक वर्ष बजेट आउने बेला कर बढ्ने सम्भावना हुनसक्छ भन्ने अनुमानमा व्यापारिक घरानाहरुले गाडी ल्याएको हुनसक्ने भन्दै अर्थमन्त्री महतले त्यसलाई सूचना चुहायो नभन्न आग्रह गरे ।
उनले विद्युतीय गाडीको करमा आफूले गरेको हेरफेरले मानिसहरु पेट्रोलियम सवारी साधनतिर आकर्षित नहुने दाबी गरे । पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम भएको भन्दै उनले अघि भने, ‘यो कर समायोजनले इभी छाडेर पेट्रोलियम बेसको गाडी किन्न कोही जानेवाला छैन ।’