काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा रहेको संसद भवनमा आगजनी भएको छ ।
हजारौँको संख्यामा आन्दोलनकारी संसद भवन प्रवेश गरेर आगजनी गरेका हुन् ।
जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड भएको हो ।
अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ ।
उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् । प्रधानमन्त्रीले भर्खरै राजीनामा दिइसकेका छन् ।
FACEBOOK COMMENTS