काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ ।
सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।
समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने सूचनामा उल्लेख छ ।
बिहीबार दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने राईले जारी गरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभा अन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी छ ।
चैत २७ गते प्रतिनिधि सभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्ने व्यवस्था गरेको छ ।

