वीरगञ्ज । खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान थालिएको हो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषधको रोकथामको लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए । “लागुऔषधको रोकथाम तथा नियन्त्रण एकल प्रयासले सम्भव हुन्न । त्यसैले सामूहिक प्रयास गर्नका लागि सबैले हातेमालो गर्न जरुरत छ ।”
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लागुऔषधको दुव्र्यसनी रोकथामको लागि पर्साका सबै पालिका एकजुट भएरअघि बढ्नुपर्ने बताए ।
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले लागुऔषधको कारोबारीले पर्सा जिल्लालाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आइरहेकाले त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी २६९ मुद्दा दर्ता भएको थिए । चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको सङ्ख्या १०२ पुगेको छ । पर्सा प्रहरी हिरासतमा रहेका ५५ जनामध्ये २७ जना लागुऔषध मुद्दाका अभियुक्त हुन् ।
FACEBOOK COMMENTS