काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा चलेको मुद्दाको प्रतिनिधिका रूपमा ‘वारिस’ राख्ने अनुमति पाएका छन् ।
जिल्ला न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासबाट बिहीबार (चैत १९) मुद्दामा वारिसको अनुमति दिएको तहसिलदार देवराज भट्टराईले बाह्रखरीलाई जानकारी दिए ।
“रास्वपा सभापति लामिछानेले पर्सामा चलेको मुद्दामा वारिस राख्न अनुमति पाउनुभयो ।
अब उहाँ आफैँ तारिखमा आइरहनु परेन,’’ अदालतका तहसिलदार भट्टराईले भने । भट्टराईका अनुसार लामिछानेले बुधबार गते ‘वारिस नियुक्त गर्न अनुमति पाउँ’ भन्दै अदालतमा निवेदन दिएका थिए । लामिछानेविरुद्ध पर्सा अदालतमा ‘सहकारी ठगी र संगठित अपराध’ मुद्दा विचाराधीन छ ।
लामिछानेले बुधबारै पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका थिए । उनको मुद्दामा अर्को पेसी तारेख ०८३ वैशाख २४ गतेका लागि तोकिएको छ । रास्वपा सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS