काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने जनाएका छन्। मंगलबार पार्टीनिकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरूमा सहभागी हुने बताएका हुन्।
उनले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने जानकारी दिए।
‘हाम्रापनि मन्त्रीहरू हुनुहुन्छ। गठबन्धन दलमा हामी पनि सामेल छौँ। केन्द्रमा पनि हामी छौँ। अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुन गइरहेका छौँ। त्यसअर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भूमिका रहनेछ’, नेपालले भने, ‘पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरूको सहयोग लिएर, उहाँहरूसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ। शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा तपाईंहरू अगाडि बढ्नुहोस्।’
अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्त्व दिनुपर्ने बताए। उनले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए। अध्यक्ष नेपालले कुनैपनि बालबालिकाहरूलाई विद्यालय बाहिर राख्न नहुने पनि बताए। सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ।
उहाँले भन्नुभयो – ‘शिक्षालाई अत्याधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरूको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ। त्यस्तै शिक्षा प्रदान गर्न एकजना बालबालिका पनि विद्यालय भन्दा बाहिर नरहुन् भन्ने सोच राखेर सबै बालबालिकालाई न्यूनतम पनि कक्षा १२ सम्म पढ्ने वातावरण हामीले उपलब्ध गराउनु पर्दछ। प्रत्येक युवाहरूलाई हामीले प्राविधिक शिक्षा दिनुपर्छ। र प्राविधिक तालिम दिनुपर्छ। जसले गर्दा सीपयुक्त जनशक्ति उत्पादन हुन सकोस्।’
FACEBOOK COMMENTS