काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता एकता कायम राख्न गरेको हो ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले पार्टीका अगाडि चुनौतीका पहाड रहेकाले एकतामा जोड दिने निर्णय भएको बताए । ‘जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ । निर्वाचन पनि आइरहेको छ’, उनले भने, ‘पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।’
निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसले पार्टीलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको छ ।
आजको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह गरेको छ । सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको उनले बताए । ‘आगामी दिन हाम्रो पार्टीलाई निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वास पनि हामीलाई छ’, उनले भने ।
प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी दर्ताको समय नजिक आएकाले आफूहरू उम्मेदवार चयनको प्रक्रियामा लागेको पनि चालिसेले जानकारी दिए ।

FACEBOOK COMMENTS