पशु बीमामा कृषकको आकर्षण बढ्दो
कर्पोरट खबर
12:14 pm, शुक्रबार, भदौ १५, २०८०
दमौली । तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ ।
जिल्लाका २८ हजार ४ सय ९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डाक्टर बालकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस कार्यक्रमबाट २ सय ७१ कृषक लाभान्वित भएका छन्।
जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार ६ सय ५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम ३ सय १८ बङ्गुरको बीमा गरिएको थियो ।
बीमाका लागि ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्क बापत सहयोग गरेको छ भने १३ लाख १८ हजार कृषकले खर्च गरेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार ५ सय ६४ गाई, ४ सय ७८ भैँसी, १ हजार ४ सय ८४ बाख्रा, २५ हजार ६ सय ५० कुखुरा, ३ सय १८ बङ्गुरको बीमा गरिएको छ ।
जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेका छन् । पशुधनको बीमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । उनका अनुसार बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने छ ।
“किसानले बीमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ”, प्रमुख डाक्टर श्रेष्ठले भने, “कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।” पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने उनले बताए ।
“बीमा रकम भुक्तानीका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ”, डा श्रेष्ठले भने , “क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ ।”
बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । उनले भने, “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत राहत पाइन्छ, जसले गर्दा कृषकलाई सहयोग पुगेको छ ।”
FACEBOOK COMMENTS