काठमााडौं । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीका लागि भन्दै आज बिहान तीन बजेदेखि चारै वटा ढोका खुला रहेका छन् ।
सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।
जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको छ । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटिएका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छन ।
FACEBOOK COMMENTS