काठमाडौँ । सरकारले भ्रष्टाचारको मुद्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्दको निर्णय गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्द भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउने तयारी थालिएको छ । विभूषण रद्द भएका अन्यमा सुरक्षाकर्मी हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी, व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ छन् । भष्ट्राचार र विवादमा रहेका व्यक्तिहरुलाई विभूषण दिने निर्णय भएको भन्दै आलोचना भएपछि पूर्ववर्ति शेरबहादुर देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका विवादित व्यक्तिको नाम रद्द गरिएको बताइएको छ ।
उद्योगी मुरारकामाथि खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दाको फैसला नहुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ बाट विभूषित गरिएको थियो ।
FACEBOOK COMMENTS