काठमाडौं । ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण गर्न लागिएको केबलकारका कारण लामो समयदेखि उत्पन्न विवाद समाधानका निम्ति सरकारले कार्यदल गठन गरेको छ ।
बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का सामाजिक विकासविज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदललाई पाथीभरा मन्दिर जाने केबलकार निर्माण सम्बन्धमा देखिएका विवाद तथा समस्या पहिचान गरी समाधानका निम्ति १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
सबै सरोकारवाला पक्षलाई समेटेर बनाइएको उक्त कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि सदस्य छन् ।
केबलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री शाहको सचिवालयका स्वकीय सहसचिव पनि कार्यदलमा सदस्य छन् ।
