ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन संकलन भएको छ ।
पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन संकलन गरी तौल गरिएको तौल मूल्यांकन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो ६५० ग्राम चाँदी संकलन भएको छ । चाँदी समेत रिफाइन गरिएको छैन ।
गत वर्षको भदौ ७ देखि गएको मंसिर १६ गतेसम्म मन्दिरमा संकलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
यसअघि दुई वर्षको अवधिमा संकलित सुनचाँदीको विवरण यकीन भएको थियो । उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ ।
न्यिदब िक्ष्mभ दबलप
दुवै पटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यसपटक संकलित सुन रिफाइनपछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।
यस्तै, पाथीभरामा संकलन भएको भेटी रकम समेत गणना भइरहेको छ । मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताए । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS