काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको योगदान घटेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा पेस गरेको ‘आर्थिक सर्वेक्षण २०८१र८२’ अनुसार चालु आर्थिक वर्षमा जिडिपीमा कृषिको योगदान वृद्धि हुने देखिएको हो ।
‘चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२ दशमलव ८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२ दशमलव ०१ प्रतिशत रहने अनुमान छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ । गत आर्थिक वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान २४।७१, उद्योगको १२।९१ र सेवा क्षेत्रको ६२।३८ प्रतिशत थियो । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान उच्च देखिन्छ ।
कृषि, विद्युत् तथा ग्याँस, यातायात तथा भण्डारणलगायतका क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४।६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो ।
आर्थिक सर्वेक्षणअनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५ दशमलव ५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम ३ दशमलव ३२ प्रतिशत रहने अनुमान छ । त्यसैगरी कोशीको ३ दशमलव ३६, मधेशको ४ दशमलव ५०, बागमतीको ५ दशमलव १८, लुम्बिनीको ४ दशमलव ७० प्रतिशत र कर्णाली प्रदेशको ४दशमलव ७४ प्रतिशत रहने अनुमान छ ।
आर्थिक सर्वेक्षणअनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन ३ दशमलव २८ र गैरकृषि क्षेत्रको उत्पादन ४ दशमलव २८ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३ दशमलव ३५ र गैरकृषि क्षेत्रको उत्पादन ३ दशमलव ३६ प्रतिशतले बढेको थियो । यस वर्ष धानको उत्पादन ४ दशमलव ०४ प्रतिशतले बढ्ने अनुमान छ ।
कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा ९३ दशमलव ७८ प्रतिशत रहेको कुल उपभोग चालु आर्थिक वर्ष ९३ दशमलव ४५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव २२ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष ६ दशमलव ५५ प्रतिशत पुग्ने अनुमान छ ।
आर्थिक वर्ष २०८० दशमलव ८१ मा कुल स्थिर लगानी ५।२ प्रतिशतले वृद्धि भएकामा चालु आवमा ५ दशमलव ८ प्रतिशतले बढेर १४ खर्ब ७० अर्ब १२ करोड पुग्ने अनुमान छ । कुल स्थिर लगानीमध्ये सार्वजनिक क्षेत्रको हिस्सा ३९ दशमलव १ प्रतिशत र निजी क्षेत्रको हिस्सा ६० दशमलव ९ प्रतिशत रहेको छ ।
चालु आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा) ५ दशमलव ८ प्रतिशतले वृद्धि भइ दुई लाख छ हजार ४२४ पुग्ने अनुमान छ । त्यस्तै आर्थिक वर्ष २०८०र८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ४६७ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्षमा एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमी, छिमेकी मुलुकको मुद्रास्फीतिमा आएको कमीलगायतका कारण चालु आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो मुद्रास्फीति ६ दशमलव ०८ प्रतिशत थियो ।
FACEBOOK COMMENTS