काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) चीनको स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ ।
विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ चलचित्रहरुमध्ये छनोट भएका ९८ चलचित्रहरुबाट २० ओटा चलचित्रहरु नोमिनेशनमा परेको थियो । चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शनसमेत हुँदैछ ।
सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि नोमिनेशनमा परेको थियो । अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको किनो फेस्टिभल ‘लाईट अफ द वल्र्ड’, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन लगायतका थुप्रै चलचित्र महोत्सवहरुमा ‘पाउलो’ छनोटसमेत भएको थियो । छैटौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवको ९एनसिआईएफ० मा स्पेशल स्क्रिनिङ गरिएको थियो ।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाइँले अभिनय गरेका छन् । काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको ‘पाउलो लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले निर्माण गरेको घुर्रा, भाउ, द स्कूल वाल, एक जोर जुत्ता, दृश्य लगायतका लघुचलचिहरु विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । उनी पछिल्लो समय नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् । चलचित्रको नाम चाँडै सार्वजनिक गरिने उनी बताउँछन् ।
FACEBOOK COMMENTS